Friday, July 19, 2013

मुक्तक


मन्दिरमा धर्मका व्यापारी छन्
सिधा र सुकोका भिखारी छन्
भो नधाऊ भगवान पुज्न भन्दै
त्यहाँ सिर्फ मूर्तिका पूजारी छन्
-
कहिले प्रेम बाङ्गिएको कथा लेखें
कहिले प्रीति नाङ्गिएको कथा लेखें
वेहिसाव भो मेरो निर्दोष माया भन्दै
ऊसङै आज झाङ्गिएको कथा लेखें ।।
-
नबसुँ भो जाउँ जाउँ भन्छौ त्यो शहरमा के छ भन ?
आउन्न भन्दा तानी रहन्छौ त्यो रहरमा के छ भन ?
चुमुँला रे अनेकानेक अङ्ग तिम्रो अङ्गालोमा बेरिएर
पिउन्न भन्दा कर लाउछौ त्यो जहरमा के छ भन ? ...
-
भन्दिन म घात गरी
पापिनीले वर्वाद गरी
मेरै गल्ती पापिनीलाई
विश्वास गर्नु अगाध गरी ।।

-

हल्ला चल्यो गाउँमा हैन होला
लाहुरेसँग सानी गैन होला
परदेसी बास बस्या झूठ बोल्या
मोरी पोइला गकी छैन होला ।।
-
कैले सिरानी फेरेर रोएँ
कैले तस्विर हेरेर रोएँ
ए बैगुनी तिम्रै यादमा
एउटा मुक्तक केरेर रोएँ ।।
(*..महादेव सरको सहयोगमा यो अन्तिम हरफ चै)
-
केटा हो कि केटी भन्दै झुक्किनु हुन्छ कति ?
हाई निरु आई लव यू भन्दै जिस्किनु हुन्छ कति
सरि म त केटी हैन त केटा हुँ भने पछी
थुक्क साले खाते भन्दै बिच्किनु हुन्छ कति !!!
-
पीरतिमा धोका खाएँ बाठो बनेर
बज्र्यो विश्वास शीरमा लाठो बनेर
सोध्दा;भन्थी भाइ हो मेरो दिमन
भनिन नि पापिनीले नाठो भनेर ।।
-
आनाकानी भन्यौ ...
मनोमानी भन्यौ ...
कालले बिर्सेंको ....
जानाजानी भन्यौ ।।
-
माग्दिन हात जिबनको खोली म एक्लै तर्दै छु
नबस भन्यौ तिम्रो दिलबाट म वसाईं सर्दै छु
भनेर नानू तिमीलाई भूल्न क्यै गरी नसक्दा
के गरी भूलुँ अतित म प्रभु !प्रार्थना गर्दै छु ।।
-
जसै वर्षायाम सावने भेलले छाल हान्छ
कोशी किनार जालहारीले पनि जाल हान्छ
माछी जस्तै बगाउँछ कि मलाई कतै भन्दै
चारतिर हेर्दै होसियारसाथ चाल हान्छ ।।
-
कसरी भनुँ मातको कुरा
उसँग बिता रातको कुरा
नसोध अब कोही मलाई
रहर पूरा भो कि थिए अधुरा ?
-
किनारमा पुराएर
पर्ख भन्दै कुराएर
घात गरी पापिनीले
अन्तै लगन जुराएर
-
जनता सामू चुनावमा मिठास बोकी आउँछन्
समस्याको समाधान बिकास बोकी आउँछन्
नेता ज्यूको देश बदल्ने मुखाग्र भाषण सुन्दा
लाग्छ साँच्चै नयाँ ईतिहाँस बोकी आउँछन् ।।
-
जुन पार्टी नेता आए नि ताल उस्तै छ
गरीब जनता नेपालको हाल उस्तै छ ।।
कौडी हारोस् या करोड मारोस् जुवाडेले
दाम मात्र तल माथि खाल उस्तै छ ।।
-

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस